एयरपोर्टमा अनौठो रुपमा प्रस्तुत भए केपी ओली !

काठमाडौं, बैशाख ७– स्वास्थ्य उपचारका लागि थाइल्याण्ड गएका एमाले अध्यक्ष केपी शर्मा ओली बिहिबार मध्यान्न स्वदेश फर्किएका छन् ।

हरेक औपचारिक तथा अनौपचारिक कार्यक्रममा मधेसी दल र सत्तारुढ दलप्रति आक्रामक रुपमा प्रस्तुत हुँदै आएका ओली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा धेरैको अनुमानविपरित फरक रुपमा प्रस्तुत भए । न त उनले मधेसी मोर्चाप्रति प्रहार गरे न त सरकारविरुद्ध कुनै टिप्पणीनै गरे । बरु उनले पाँच मधेसी घटकबीच एकता हुनुलाई सकारात्मक प्रयासको संज्ञा दिँदै देशकै ठूलो दल नेपाली कांग्रेसको पछिल्लो भूमिका पनि सन्तोषजनक रहेको बताए ।
उनले भने, ‘देशका राजनीतिक दलहरु नयाँ ढंगले अघि बढ्न खोजेका छन् । मधेसी दलको एकता पछि यसैको उदाहरण हो। टुटफुट हुनुभन्दा एक भएर अघि बढ्नु राम्रो कुरा हो ।
सरकारप्रति कुनै नकारात्मक टिप्पणी नगरेका उनले पछिल्लो समय नेपाली कांग्रेसको भूमिका उल्लेखनीय रहेको भन्दै अब सबै मिलेर निर्वाचन सफल बनाउनतिर लाग्नुपर्नेमा जोड दिए ।
उनले एमाले सम्पूर्ण रुपमा चुनावमा होमिइसकेको जानकारी दिँदै पार्टीको घोषणापत्र तयार भइसकेको र एक दुई दिनभित्र सार्वजनिक गरिने पनि जानकारी दिए । यस्तै समयमै सबै स्थानीय तहमा पार्टीबाट लड्ने उम्मेद्वारको टुंगो लगाउने समेत उनले बताए ।
उनले बैशाख ३१ गते चुनाव कुनै पनि हालतम हुने भन्दै चुनाव हुँदैन की भनेर ‘ बट र इफको फुर्को लगाउन समेत नहुने बताए ।
‘चुनाव जनताले आफ्ना मत राख्ने अवसर हो । जनताले आफ्नो प्रतिनिधि चुन्ने अवसरलाई रोक्न दिनु हुँदैन’ ओलीले भने, ‘ चुनाव हुन्छ र लोकतान्त्रमाथि विस्वास राख्ने सबैले चुनावमा भाग लिनुपर्छ ।’
उनले चुनाव चिन्हको माग राख्दै आन्दोलनरत दलहरुलाई चुनाव चिन्ह प्रदान गरिनुपर्ने धारणा समेत राखे ।

नियमित स्वास्थ्य जाँचको लागि भन्दै ओली गत चैत २६ गते थाइल्याण्ड गएका थिए भने स्वास्थ्य जाँचको क्रममा हर्नियाको समस्या देखिएपछि त्यसको अपरेशन गराएको र अहिले स्वस्थ्य भएर फर्किएको पनि जानकारी दिए ।

Comments